वीरगन्ज :

अर्थमन्त्री खनाललाई पुनर्निर्माणदेखि आर्थिक सुधारसम्मको चुनौती

श्रेणी : अर्थ

3 hours
Pradeep Sah
2.9kViews
1514 Shares

काठमाडौं,३० भदौ । देशको आर्थिक सुधारका पक्षमा लामो समयदेखि वकालत गर्दै आएका पूर्वअर्थसचिव रामेश्वर खनाललाई प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले अर्थमन्त्रीको जिम्मेवारी दिएको छ ।

उनी आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । खनालले आफ्नो सरकारी जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा बिताएका छन् । उनले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थसचिवको रूपमा काम गरेका थिए। त्यतिबेला उनले डा.रामशरण महत, डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र भरतमोहन अधिकारी लगायतका मन्त्रीहरूसँग काम गरेका थिए। भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट निर्माणको काम मन्त्रालयबाहिर भएको थाहा पाएपछि उनले सचिव पदबाट राजीनामा दिएका थिए, जसले उनको इमानदारी र सिद्धान्तप्रतिको निष्ठा देखाउँछ।

अर्थमन्त्री खनालका सामु अहिले धेरै चुनौतीहरू छन्। जेन(जी आन्दोलनका कारण क्षतिग्रस्त भएका सरकारी भवनहरू पुनर्निर्माण गर्नु, निजी क्षेत्रको खस्कँदो मनोबल उकास्नु र अघिल्लो सरकारले ल्याएको बजेटलाई कार्यान्वयनमा ल्याउनु उनको मुख्य जिम्मेवारी हुनेछ।

केही समयअघि मात्र उनी संयोजक रहेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगले तत्कालीन केपी ओली सरकारलाई करिब ४५० पृष्ठको प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा मौद्रिक नीति, सार्वजनिक खर्च, राजस्व, पुँजी बजार, बैंकिङ, बीमा, कृषि, जलविद्युत् विकासलगायत विभिन्न क्षेत्रको सुधारका लागि विस्तृत सुझावहरू समावेश थिए । अब उनले तिनै सुझावहरूलाई आफैंले कार्यान्वयन गर्ने अवसर पाएका छन् ।

जेन(जी आन्दोलनको मुख्य मागमध्ये सुशासन र भ्रष्टाचारमुक्त नेपाल पनि थियो। अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा यी मागहरूलाई सम्बोधन गर्नुपर्ने थप चुनौती पनि छ। अर्थतन्त्रको गहिरो जानकारी भएका खनालको यो नियुक्तिलाई अर्थतन्त्रलाई सही बाटोमा ल्याउने एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *