
श्रेणी : प्रदेश
काठमाडाैं,२२ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रको सुधारका लागि सरकारले ठोस र योजनाबद्ध कदम उठाउनुपर्ने आवश्यकता औंल्याएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले राजस्व संकलनमा ३५ प्रतिशतले वृद्धि गर्न सके मात्र देशको आवश्यकता र राजनीतिक लक्ष्य पूरा हुने बताएका हुन्।
उनले राजनीतिक स्थिरता नै औद्योगिक लगानीका लागि मुख्य आधार भएको उल्लेख गर्दै, उद्योगी व्यवसायीसँग सहकार्य गरेर विकास निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए। “हवाई टिकटको शुल्क घटाउने, राजमार्ग स्तरोन्नति गर्ने, र पर्यटन पूर्वाधारमा लगानी गरेर अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ,” उनले भने।
महामन्त्री थापाले वर्तमान निर्वाचन प्रणाली सुधारबारे छलफल भइरहेको जानकारी दिँदै, कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा विकास निर्माण र जनअपेक्षा पूरा गर्न कठिनाइ भएको बताए। यसमा दलहरूबीच सहमति आवश्यक रहेको उनको भनाइ छ।
कार्यक्रममा व्यवसायी माइकल कर्माचार्यले पछिल्लो चार महिनामा नेपालले चार सय ६१ करोड रुपैयाँको व्यापारघाटा बेहोरेको जानकारी दिए। उनले यसलाई सुधार गर्न ठोस सरकारी योजना आवश्यक रहेको बताए।
पर्यटन व्यवसायी टीकाराम सापकोटाले गण्डकी प्रदेशका होटलहरूमा ३५ हजारको क्षमता हुँदाहुँदै पनि ‘अकुपेन्सी’ दर ३०-४० प्रतिशतमै सीमित रहेको बताए। पर्यटन व्यवसायमा पुँजी पलायन भइरहेकामा उनले चिन्ता व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सस्तो प्याकेज प्रस्ताव गरेर विदेशी पर्यटक आकर्षित गर्नुपर्ने बताए। पर्यटन व्यवसायी सोम थापाले व्यवसाय धराशायी हुँदै गएकाले यसलाई उकास्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरे।

प्रतिक्रिया