
श्रेणी : अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको ह्वाइट हाउसले जनाएको छ ।
उनले बेलायत र फिनल्यान्डमा हुने बैठकका लागि युरोपको कूटनीतिक भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । बेलायती राजा चाल्र्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग ‘भेटवार्ता’का लागि राष्ट्रपति बाइडेन जुलाई ९ मा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछि उनी भिल्नियसमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुनेछन् र अन्त्यमा अमेरिका–नर्डिक लिडर्स शिखर सम्मेलनका लागि हेलसिन्की जानेछन् ।
पश्चिमी राष्ट्रहरूको सहयोगमा पूर्वी युरोपेली मुलुक युक्रेनले रुसी आक्रमणविरुद्ध लडिरहेको अवस्थामा युक्रेनको सदस्यता प्रक्रियालाई आगामी शिखर सम्मेलनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा गठबन्धन लगभग एकमत भएको अमेरिकाले जनाएको छ ।
ह्वाइट हाउसले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्चर्सनलाई वासिङ्टनमा स्वागत गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले भिल्नियसमा हुने वार्ताअघि स्टकहोम नेटो गठबन्धनमा सामेल हुने बताएको छ ।


प्रतिक्रिया