वीरगन्ज :

अमेरिकाले नेपालका लागि छुट्ट्याएको पाँच अर्ब रुपैयाँभन्दा बढीको सहायता रोक्यो

श्रेणी : अन्तर्राष्ट्रिय

4 weeks
Pradeep Sah
1.9kViews
1796 Shares

वीरगन्ज,०५ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौती गर्ने नीति अघि बढाइरहेको छ । सोही नीति अनुरूप अमेरिकाले नेपाललाई दिने महत्त्वपूर्ण आर्थिक सहयोग पनि रोक लागेको छ ।

आइतबार सार्वजनिक निर्णयअनुसार, अमेरिकी सरकारी दक्षता विभाग (डोजी)ले नेपालका दुई प्रमुख परियोजनाहरूका लागि छुट्ट्याइएको ३९ मिलियन डलर (५ अर्बभन्दा बढी रुपैयाँ)को सहायता कटौती गर्ने घोषणा गरेको छ ।

कटौती गरिएका कोषमध्ये २० मिलियन डलर ‘आर्थिक सङ्घीयता’ योजनाका लागि तथा १९ मिलियन डलर ‘जैविक विविधता संरक्षण’ परियोजनाका लागि छुट्ट्याइएको थियो ।

डोजीका प्रमुख तथा अरबपति व्यवसायी इलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट गर्दै नेपालसहित भारत, कम्बोडिया, दक्षिण अफ्रिका, लाइबेरिया, मालीजस्ता विभिन्न देशहरूलाई दिइने अनुदान रोकिएको जानकारी गराएका छन् ।

पोस्टमा लेखिएको छ, ‘अमेरिकी करदाताको पैसा निम्न परियोजनाहरूमा खर्च गरिन लागेको थियो, जुन सबै रद्द गरिएको छ ।’

निर्णयसँगै नेपालमा सङ्घीय आर्थिक संरचनाको कार्यान्वयन र जैविक विविधता संरक्षणमा असर पर्ने देखिन्छ ।

ट्रम्प प्रशासनले सुरु गरेको सहायता कटौती रणनीतिले जलवायु परिवर्तन, राजनीतिक स्थिरता सुधार, र विभिन्न सामाजिक विकासका कार्यक्रमहरूमा समेत प्रभाव पार्ने आङ्कलन गरिएको छ ।

यसअघि अमेरिकाले अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) द्वारा नेपालका विभिन्न विकास परियोजनाहरूका लागि प्रदान गर्दै आएको सहयोग रकममा समेत कटौती गरेको थियो । यसले नेपालमा सञ्चालित स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, र स्थानीय प्रशासन सुदृढीकरणका कार्यक्रमहरूमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *