
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२५ वैशाख । अमेरिका सरकारले सन् २०२5 को पहिलो चार महिनामा ६५ हजार ६ सय ८२ जना गैरकानुनी आप्रवासीलाई देशनिकाला गरेको छ। यूएस इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) को पछिल्लो तथ्यांक अनुसार जनवरीदेखि अप्रिलसम्म निष्कासित हुनेहरूमध्ये ७९ जना नेपाली र ४ जना भुटानी शरणार्थी रहेका छन्।
गैरकानुनी रूपमा बसोबास गर्ने, आपराधिक गतिविधिमा संलग्न हुने वा अदालतबाट निष्कासनको आदेश भइसकेका व्यक्तिहरूलाई देश बाहिर पठाउने अभियान अमेरिकाले तीव्र पारेको छ। आइसले यो अभियान अन्तर्गत उनीहरूलाई रोजगारी दिने केही व्यवसायीसमेत पक्राउ गरी १० लाख अमेरिकी डलर जरिवाना उठाएको जनाएको छ।
आइसका अनुसार १ करोड १० लाख कागजातविहीन आप्रवासी रहेका अमेरिकामा अहिलेसम्म ०.५९ प्रतिशत मात्र निष्कासित भएका छन्।
अमेरिकाबाट निष्कासित ७९ नेपालीमध्ये जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिलमा २६ जना रहेका छन्। काठमाडौंस्थित अध्यागमन विभागका अनुसार ६६ पुरुष र १३ महिला रहेका यी व्यक्तिहरूलाई चार्टर उडान, भारतमार्ग हुँदै र नियमित उडानबाट नेपाल ल्याइएको हो।
विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार अमेरिकाबाट फिर्ता पठाइएका नेपालीलाई सामान्य सोधपुछ र प्रोफाइल जाँच गरी परिवारको जिम्मा लगाइएको छ। भुटानी शरणार्थीको हकमा भने प्रहरी निगरानीमा झापा र मोरङका शरणार्थी शिविरमा राखिएको छ।
अमेरिकाको आइसले मानव तस्करीमा संलग्न गिरोहहरूको पनि अनुसन्धान गरिरहेको जनाएको छ। आइसका उपनिर्देशक म्याडिसन डी सियानका अनुसार तस्करहरूले प्रत्येक वर्ष सयौं आप्रवासीलाई अमेरिका पुर्याउने गरेको खुलाइएको छ।
वासिङ्टन डीसीस्थित नेपाली दूतावाससँग भने निष्कासन प्रक्रियामा रहेका नेपालीबारे स्पष्ट जानकारी छैन। पासपोर्ट नभएका व्यक्तिहरूको ट्राभल डकुमेन्ट बनाउने बेला मात्र दूतावासलाई सूचित गरिने इकोनोमिक काउन्सिलर युगराज पाण्डेले जानकारी दिए।
अघिल्ला वर्षहरूको तुलनामा २०२५ मा निष्कासनको दर उच्च देखिएको छ। सन् २०१९ देखि २०२४ सम्म ३८९ जना नेपाली निष्कासित भएका थिए भने यो वर्ष चार महिनामै ७९ नेपाली फिर्ता पठाइएको छ।


प्रतिक्रिया