
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२६ जेठ । अमेरिकी कानुन उल्लंघनका कारण डिपोर्टमा परेका ३७ नेपाली आइतबार मध्यराति काठमाडौं आइपुगेका छन्। अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको चार्टर्ड फ्लाइट (कल–साइन N-486AX) मार्फत ३२ पुरुष र ५ महिलालाई नेपाल फर्काएको हो।
उक्त फ्लाइटमार्फत अमेरिका सरकारले भारत र बंगलादेशका नागरिकहरूलाई पनि उनी–उनीहरूको देशमा फिर्ता पठाएको छ। यससँगै डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको दोस्रो कार्यकाल सम्हालेयता अमेरिकाबाट डिपोर्टमा परेका नेपालीको संख्या १७७ पुगेको छ।
डिपोर्टमा परेकाहरूमध्ये धेरैजसो अवैध रूपमा अमेरिका पुगेका थिए वा त्यहाँ बसेर आप्रवासनसम्बन्धी कानुनी प्रक्रिया पालना नगरेको पाइन्छ। अब उनीहरूका बारेमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (Anti-Human Trafficking Bureau) ले विस्तृत सोधपुछ गर्ने तयारी गरेको छ।
ब्युरोले उनीहरू अमेरिका कसरी पुगे, कस्ता माध्यम प्रयोग भए, डिपोर्ट हुनुको कारण के हो र यसमा मानव तस्करीको संलग्नता कति छ भन्ने विषयमा अनुसन्धान अघि बढाउने जनाएको छ। यसअघि पनि अमेरिकाबाट डिपोर्टमा परेका नेपालीहरूसँग सोधपुछ भइसकेको छ र कतिपय घटनामा मानव तस्करीको सञ्जाल सक्रिय रहेको प्रमाणित भएको थियो।


प्रतिक्रिया