
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,२९ माघ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनमार्फत पेट्रोल र मट्टितेलको सफल परीक्षणपछि नेपाल आयल निगमले सोमबारदेखि औपचारिक रूपमा पेट्रोल वितरण सुरु गरेको छ।
निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्य का अनुसार सोमबार पोखराका लागि ७ ट्यांकर र विराटनगरका लागि १० ट्यांकर पेट्रोल पठाइएको छ। एक ट्यांकरमा २० हजार लिटर पेट्रोल अट्ने हुँदा सोमबार मात्र ३ लाख ४० हजार लिटर पेट्रोल वितरण गरिएको छ।
यसअघि पाइप लाइनबाट केवल डिजेल आयात हुँदै आएको थियो। गत असोज १७ मा ५,५०० किलोलिटर पेट्रोल ल्याएर परीक्षण गरिएको थियो, जसपछिको सफल परीक्षणपछि पेट्रोल र मट्टितेलको आपूर्ति औपचारिक रूपमा थालिएको हो।
अमलेखगन्ज डिपोमा पाइप लाइनमार्फत पेट्रोल ‘रिसिभ’ गरी डिजिटल (अटोमेसन) प्रणालीमार्फत लोड गरिन थालेको छ। प्रारम्भिक चरणमा स्थानीय तहमा पुरानै प्रविधिबाट वितरण भए पनि अबको एक–दुई महिनाभित्र पूर्ण अटोमेसनमा जानुपर्ने लक्ष्य राखिएको छ।
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले संयुक्त रूपमा उद्घाटन गरेका थिए। पहिलो चरणमा डिजेल आपूर्ति हुँदै आएको पाइप लाइनबाट अब पेट्रोल र मट्टितेल पनि आयात सुरु गरिएको छ।
परियोजनाका लागि नेपाल आयल निगमले १ अर्ब ५४ करोड रुपैयाँ र इन्डियन आयल कर्पोरेशन (IOC) ले ७५ करोड भारु लगानी गरेको छ।उक्त बजेटबाट पेट्रोल ट्यांकी, रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, मिश्रित इन्धन भण्डारण ट्यांकी तथा अन्य पूर्वाधार निर्माण गरिएको छ।
पूर्वाधार निर्माणको जिम्मा IOC ले लिएको थियो, जसका लागि भारतीय कम्पनी लिखिता इन्टरनेशनल लाई ठेक्का दिइएको थियो।
पाइप लाइन सञ्चालनले इन्धन ढुवानीमा लाग्ने समय, लागत र प्राविधिक नोक्सानी कम गर्ने निगमको दाबी छ। अब पेट्रोल र मट्टितेल पनि नियमित रूपमा पाइप लाइनबाट आयात गर्दै वितरण गरिनेछ।

प्रतिक्रिया