
श्रेणी : मधेस
काठमाडौँ,१४ असार । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन हुने भएको छ। संघीय संरचनाअनुसार शिक्षा प्रणालीलाई पुनःसंरचना गर्ने क्रममा आगामी शैक्षिक सत्रदेखि एसईई प्रदेश सरकारमार्फत हुने निर्णय गरिएको हो।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शनिबार बसेको बैठकमा यसबारे सहमति जुटेको हो। यसअघि संसदीय उपसमितिले यो प्रस्तावलाई आफ्नो प्रतिवेदनबाट हटाएको थियो। तर, शिक्षा मन्त्रालयले पुनः प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफलपछि सहमति बनेको हो।
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारहरूले एसईईको आयोजनादेखि सञ्चालनसम्मका कार्यहरू सम्हाल्नेछन्।
शिक्षा नीति र संरचना संघीयतासँग समायोजन गर्दै लैजान खोजिएको यो निर्णयलाई शिक्षामा विकेन्द्रीकरण र स्थानीय उत्तरदायित्वको अभ्यासको रूपमा हेरिएको छ।
यस परिवर्तनसँगै प्रदेश सरकारहरूले आफ्ना आवश्यकताअनुसार परीक्षा व्यवस्थापन, केन्द्र निर्धारण, मानव संसाधन परिचालन र मूल्याङ्कन प्रणालीमा सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया