
श्रेणी : राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन् । प्रदेशसभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधिसभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ ।
पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १५औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्नुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर नभएको बताए ।
उनले मुलुकको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले पनि केन्द्रीय नै रहेको र त्यसलाई कसैले खोस्ने स्थिति नभएको अध्यक्ष दाहालको भनाइ छ । राष्ट्रिय राजनीतिमा एजेण्डाका हिसाबले माओवादीकै एजेण्डा केन्द्रमा रहेको उनको भनाइ छ ।
इमान्दारिताका साथ आत्मसमीक्षा गरेर अगाडि बढेको खण्डमा माओवादी पुनः विस्तारित हुने उनले विश्वास व्यक्त गरे । उनले निराश वा चिन्तित भएर नभई आफूहरू प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड बताए ।
अध्यक्ष दाहालले आगामी दिनमा आफूलाई रुपान्तरित गरेर अगाडि बढ्नुपर्ने प्रतिबद्धता सबैले गर्न सकेको खण्डमा पुनः विजयी हुने विश्वास व्यक्त गरे । गम्भीर आत्मसमीक्षाको जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले रुपान्तरणका लागि दृढताका साथ प्रतिबद्धता गर्नैपर्ने बताए ।
उनले भने, “जितपछि हार, हारपछि जित यो स्वभाविक प्रक्रिया हो । हारेपछि फेरि यो के भयो भनेर गम्भीररूपमा छातीमा हात राखेका समीक्षा गर्नुपर्छ ।”

प्रतिक्रिया