श्रेणी : समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन् ।
प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको भन्दै यो विषय राजनीतिक दलहरुसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताइन् ।
उनले भनिन्, ‘अग्निपथको बारेमा सरकारले पछि कुराकानी गर्ने गरेर तत्काल होल्डमा राखेको अवस्था हो । सम्भवतः नयाँ निर्वाचित सरकारले यस विषयमा के गर्ने, कसरी अघि बढ्ने भन्नेबारेमा कुराहरु आउला । अहिलेलाई थाँती छ ।’
अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उनको भनाइ छ । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती शुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिव ३० हजार नेपाली सेवारत छन् ।
प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैंअघि पूर्ण रुपमा नाका सञ्चालन हुने बताइन् । उनले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँ भन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गरिन् ।
प्रतिक्रिया