
श्रेणी : अपराध
काठमाडौँ,२५ जेठ । नेपाल टेलिकममा देखिएको कथित अनियमितताको विषयले नयाँ मोड लिँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ।
अख्तियार स्रोतका अनुसार आरोपपत्र तयार भइसकेको छ र छिट्टै विशेष अदालतमा दर्ता हुने चरणमा पुगेको छ। यो प्रकरणमा पहाडी मात्र नभई टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसमेत प्रतिवादी बनाइएका छन्। पौडेलमाथि पहिले नै भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आरोपमा अनुसन्धान हुँदै आएको छ।
पूर्वप्रबन्ध निर्देशक पौडेल निलम्बनमा परेपछि सरकारले २०८१ साल भदौमा संगीता पहाडीलाई टेलिकमको नेतृत्वको जिम्मेवारी सुम्पेको थियो। तर केही महिनामै पहाडी स्वयंमाथि पनि अनियमितताको आरोप लागेपछि यो प्रकरण थप जटिल बनेको छ।
आयोगले कुन परियोजनामा कस्तो अनियमितता भएको हो भन्ने विस्तृत विवरण सार्वजनिक नगरे पनि स्रोतका अनुसार ठेक्का प्रक्रिया, आर्थिक पारदर्शिता र भुक्तानीका विषयमा शंका उठाइएको छ।


प्रतिक्रिया