बीरगन्ज, २२ फागुन । चोरी पैठारी गरेर ल्याइएको २० किलो चाँदीसहित बारा र पर्साका पाँच जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । राजस्व छलीमार्फत अवैध रूपमा चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अपरेशन चलाउँदै काठमाडौं महानगरपालिका–३२, नरेफाँटबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाराका सन्तोषकुमार साह (३४), प्रेमकुमार कुशवाहा (३५), गणेश साह (२६), विपना सार्की (२१) र पर्साका दीनानाथकुमार साह (३२) रहेका छन्। प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूको साथबाट चोरीका चाँदीसहित पैसा गन्ने मेसिन १ थान, डिजिटल तराजु २ थान, मोटरसाइकल ४ थान, र विभिन्न कम्पनीका ६ मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जानकारी दिएको छ। राजस्व छली बढ्दै गएकाले यस्ता अवैध गतिविधिमाथि कडाइ गरिने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया