
श्रेणी : प्रदेश
काठमाडौं,२० जेठ । गण्डकी प्रदेशको राइड सेयरिङसम्बन्धी नियमावलीविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीचको वार्ताको तेस्रो चरण आजै पुनः सुरु भएको छ।
यसअघि मंगलबार (भोलि) बिहान पुनः बैठक बस्ने भनिए पनि गृहमन्त्री रमेश लेखकको प्रत्यक्ष पहलमा सोमबार रातिनै दुवै पक्ष वार्तामा फर्किएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, आजको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएपछि दुबै पक्ष बैठक कक्षबाट बाहिरिसकेका थिए। “हामी भोलि बैठक बस्ने तयारीमै थियौँ, विज्ञप्ति निकालेर बन्द जारी रहने जानकारी दिन लागिएको थियो,” स्वाँरले भने, “तर गृहमन्त्रीको फोन आएपछि फेरि वार्तामा फर्कियौँ। उहाँले आजै समाधान गर्नुपर्छ भनेर जोड दिनुभयो।”
यसअघि गृहमन्त्रालयमा बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो २:३० बजेबाट साँझ ८ बजेसम्म दुई चरणमा वार्ता भएको थियो।
सरकारी वार्ता टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थले गरेका थिए। वार्ताका बीचमा यातायात व्यवसायीहरू मुख्य सचिव टेकनारायण अर्यालसँग पनि एक घण्टा छलफलमा बसेका थिए।
यसअघि भएका छलफलहरूमा ६ बुँदामा सहमति नजिकिए पनि मुख्य मागमा अझै पनि सहमति जुट्न सकेको छैन। गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीप्रति व्यवसायीहरू आक्रोशित छन्।
गण्डकीमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पारिएको छ भने सोमबारदेखि देशैभरि यातायात बन्द गरिएको छ। व्यवसायीहरू “सार्वजनिक यातायात बचाऊ संघर्ष समिति” गठन गरेर आन्दोलनलाई संगठित बनाएका छन्।

प्रतिक्रिया